‘उपमेयर मर्यादित महिनावारी कार्यक्रम’ सुरु

झापा । झापाको दमक नगरपालिकाले ‘उपमेयर मर्यादित महिनावारी कार्यक्रम’ सुरु गर्ने निर्णय गरेको छ । यस कार्यक्रम अन्तर्गत नगरभित्र १५ वर्ष उमेरदेखि ५५ उमेर समूहको महिनावारी हुने सबै महिलाहरूलाई निःशुल्क रूपमा महिनावारी प्याड उपलब्ध गराइने निर्णय भएको हो ।

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईका अनुसार नगर सभाले पास गरेको उपप्रमुख कोषको रकमबाट खर्च गर्ने गरी यही आर्थिक वर्षबाट नै कार्यक्रम सुरु गर्नेगरी नगरपालिकाको बोर्ड बैठकबाट यो कार्यक्रम गर्ने निर्णय भएको हो । महिनावारीलाई लज्जाको विषयमा बनाइरहेको अवस्थामा यो कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने आफूहरूको सोच रहेको उहाँले जनाउनुभयो ।

विद्यार्थीहरूका लक्षित बेग्लै कार्यक्रम रहेपनि अन्य महिलाहरूका लागि यस विषयमा यसभन्दा अघि कार्यक्रम ल्याइएको थिएन । अब सबै महिलाले नगरपालिकाले तोकेको स्वास्थ्य इकाईबाट मासिक रूपमा सेनीटरी प्याड पाउने व्यवस्था मिलाउनका लागि आवश्यक काम सुरु भइसकेको भट्टराईले बताउनुभएको छ ।

नगरपालिकाको सबै स्वास्थ्य इकाईहरुमार्फत् महिनावारी प्याड उपलब्ध गराइने र त्यसको अभिलेख सम्बन्धित इकाईले राख्ने व्यवस्था मिलाउने निर्णय भएको दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेशराज कार्कीले बताउनुभयो । नजिकको सरकारी स्वास्थ्य संस्था तथा आधारभूत स्वास्थ्य केन्द्रबाट सहज रूपमा महिलाहरूले सेनीटरी प्याड पाउने उहाँको भनाइ छ ।

मर्यादित महिनावारी मूल मुद्दा बन्नुपर्नेमा एकमत

धनगढी । महिनावारीसँग जोडिएका सबै विभेद हटाएर मर्यादित बनाउन सबै क्षेत्रले साझा रूपमा पहल गर्नुपर्ने विषयमा सरोकारवाला एकमत देखिएका छन् । महिनावारी स्वास्थ्य नीतिका विषयमा छलफल गर्न धनगढीमा आयोजना गरिएको एक कार्यक्रममा प्रदेश सभाका सदस्यले छाउपडी हटाउन हस्तक्षेपकारी पहल आवश्यक रहेको बताएका छन् ।

महिनावारी स्वास्थ्य दिवसका अवसरमा राधा पौडेल फाउन्डेसन, मर्यादित महिनावारी ग्लोबल साउथ कोलिजन र एड्स हेल्थ केयर फाउन्डेसनले गरेको नीतिगत संवाद कार्यक्रममा प्रदेश सभा सदस्य, विज्ञ र सरोकारवालाले हाल क्रियाशील रहेका नीतिनियम तथा कानुन कार्यान्वयनमा जोड दिएका छन् ।

प्रदेश सभाका सदस्य धर्मराज पाठकले महिनावारी विभेद सुदूरपश्चिमको मात्रै विषय जस्तो गरेर गलत प्रचार भइरहेको टिप्पणी गर्नुभयो । प्रदेश सभा सदस्य पाठकले महिनावारीसँग जोडिएका नीति, कानुन, निर्देशिकाको समीक्षा गरेर एकीकृत कानुन बनाउनुपर्ने र त्यसलाई प्रदेश सभाको विषय बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले सुदूरपश्चिम छाउपडी, कमैया, हलिया, कमलरी, देउकी प्रथा जस्ता कुसंस्कारका विषयमा चर्चा गर्नु गलत हुने बताउँदै यस्ता प्रथा देशभर विभिन्न तरिकाले जीवित रहेकाले तिनको अन्त्यका लागि तिनै तहको सरकार समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य मानबहादुर रावलले अब छाउपडी भन्ने शब्दको प्रयोग नै शब्दकोशबाट हटाएर महिनावारी शब्दको प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले महिनावारीकै कारण महिला दोस्रो दर्जाको नागरिक बन्नु परेको पीडादायी अवस्था सुनाउनुभयो । यसको नियन्त्रणका लागि प्रदेश सरकार, प्रदेश सभा सदस्य, स्थानीय सरकार, पत्रकार, नागरिक सबैले बोल्नुपर्ने सुझाव उहाँले दिनुभयो । महिनावारी हुँदा गरिने विभेदले महिलाको मर्यादापूर्वक बाँच्न पाउने अधिकार हनन भएको गुनासो उहाँले राख्नुभयो ।

प्रदेश सभाले अब संसद्मा प्रजनन स्वास्थ्यसँगै मर्यादित महिनावारीका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अर्का प्रदेश सभा सदस्य जानकी ऐर (बम) ले सुदूरपश्चिम छाउपडीको प्रदेश भनेर गलत प्रचार भइरहेकामा अब मर्यादित महिनावारीको प्रदेश भनेर चिनाउनुपर्ने बताउनुभयो । महिनावारीलाई मर्यादित बनाउन प्रदेश सरकारले विशेष नीति ल्याउनुपर्ने र त्यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । सो अवसरमा बम र अर्का प्रदेश सभा सदस्य निर्मला साउदले आफूहरूले महिनावारी हुँदा भोगेका समस्या सुनाउनुभएको थियो । उहाँहरूले समेत ढिलो गरेर मात्र महिनावारी (छाउपडी) प्रथा गलत हो भन्ने बुझेको बताउनुभयो । संवाद कार्यक्रममा मर्यादित महिनावारीका अभियन्ता डा. राधा पौडेलले कार्यपत्र प्रस्तुत गर्दै विश्वभरि महिनावारीलाई विभेदको व्यवहार गर्ने गरेको तथ्याङ्क पेस गर्नुभयो ।

सुदूरपश्चिममा गोठ भएर विभेद देखिएको तर देशभरि नदेखिने गरी महिनावारी भएका महिलामाथि विभेद भएको उहाँले प्रस्ट पार्नुभयो । उहाँले ९३ प्रतिशत घरेलु हिंसा परिवारबाटै हुने गरेको र त्यसको मूल कारण महिनावारीको विभेद रहेको बताउनुभयो ।  नेपालको संविधानमा उल्लेख भएका मौलिक अधिकारसम्बन्धी धारामा खानाको अधिकार, शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, बासको अधिकार, मर्यादापूर्वक जिउन पाउने अधिकार, छुवाछुतविरुद्धको अधिकार, महिलाको हकको अधिकार, समानताको अधिकार भए पनि महिला महिनावारीको विभेदबाट प्रताडित रहेका सहभागीले बताएका हुन् । डा. पौडेलले भन्नुभयो, “यी सबै अधिकार संविधानमै उल्लेख भए पनि महिनावारी भएका बेला बार्ने चलनले अधिकार हनन भएको र यस विषयमा सङ्घीय संसद्, प्रदेश सभामा प्रश्न नउठ्नु आश्चर्यको विषय हो ।”

कार्यक्रम अभियन्ता, पत्रकार, विभिन्न सङ्घसंस्थाका व्यक्तिले महिनावारी विभेदलाई मानव अधिकार, संविधानको उल्लङ्घन र अपराधसँग जोडेर नहेरेकाले समस्या भएको धारणा राखेका थिए । यहाँका क्याम्पस र विद्यालयमा अझै छाउपडी प्रथा कायम रहेको चर्चा गर्दै विद्यार्थी पूजा सिंहले अझै सेनेटरी प्याडको प्रयोगबारे धेरैलाई जानकारी नभएको बताउनुभयो । महिनावारी विभेद कानुनविरुद्धको अपराध भएकाले त्यसलाई प्रदेश सभाले गम्भीरतापूर्वक हेर्नुपर्ने अधिकांशको सुझाव थियो । धनगढी उपमहानगरपालिका जस्ता राम्रा भनिएका नगरपालिकाले पनि एक हजार वर्षसम्म नसड्ने खालका सेनेटरी प्याड रोक्न नसक्नु दुःखद भएको उहाँले बताउनुभयो ।

बेलायतमा बसोबास गर्दै आएकी सामाजिक अभियन्ता सुधा गुरुङले छाउपडी सुदूरपश्चिम र कर्णालीमा मात्र होइन, कुनै न कुनै रूपमा संसारभरका मानव समुदायमा रहेको बताउनुभयो । नेपालका केही ठाउँमा छाउपडी प्रथा कडा रूपमा मान्ने गरिएकाले गलत ढङ्गले चर्चा परिचर्चा हुने गरेको उहाँले स्पष्ट पार्नुभयो । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार विश्वमा ५० करोड महिला तथा किशोरीलाई आफ्नो महिनावारी व्यवस्थापनका लागि पर्याप्त सरसामानको पहुँच छैन । महिनावारी भएका महिला स्वास्थ्य सुविधाबाट पनि वञ्चित छन् । नेपालमा ९८ प्रतिशत महिलामा न्यूनतम मानवीय आवश्यकतासमेत परिपूर्ति हुन नसकेकाले यो अवस्थालाई राष्ट्रसङ्घले रजस्वला गरिबीका रूपमा परिभाषित गरेको बताइएको छ ।

 

मर्यादित महिनावारी कि छाउपडी !

गत महिना प्रदेश सातको कार्यक्रममा एकजना नगरपालिका प्रमुखलाई चित्त दुख्यो, जब मैले नेपाल सगरमाथा र बुद्ध जन्मेको देश हैन, छोरीहरू महिनावारी हँुदा छुट्याउने, विभेद गर्ने देश हो भनेर चिनिएको छ भनेँ । चित्त त मेरो पनि दुखेको छ, विदेशी भूमिमा त्यो पनि एक्कैछिन एयरपोर्टमा भेटिएको विदेशीले प्याच्च यस्तै सोध्दा कति चित्त दुख्छ होला । फेरि वास्तविकता पनि हो । विद्युतीय सञ्चारको जमानामा लुकाउन के नै सकिन्छ र !

महिनावारी भएका बेला केही न केही बार्ने, लाज मान्ने, निषेध गर्ने चलन संसारभर नै छ तर गरिब, सानो देश भएको, कुनै कुनै नकारात्मक परिणाम झट्ट हेर्दा देखिने र अन्तर्राष्ट्रिय सञ्चार माध्यमका कारण कतिपय बेला हाम्रो बढी गम्भीर भयो, कुनै बेला देखाइयो पनि । जस्तो, सबै सर्पले टोकिएका किन मर्दैनन् ? सफाघर र गुणस्तरीय महिनावारी सामग्री प्रयोग गर्नेहरू किन मानसिक, शारीरिक, राजनीतिक आदि हिंसामा परिरहन्छन् वा मर्यादापूर्वक बाँच्न सकिरहेका छैनन् ।

मानव अधिकार, लैङ्गिकतामा आधारित हिंसाको परिभाषा बनायौँ । घरेलु हिंसा कसुर ऐन जस्तै महिनावारी सम्बन्धित धेरै नीति, कार्ययोजना पनि बनायौँ तर त्यहाँभित्र हामी कसरी अटेका छौँ, छैनौँ हेरेनौँ वा व्यावहारिक पक्ष बिर्सियौँ । दैलेखको महाबू गाउँपालिका जुन करिब दुई वर्ष अघि मानवअधिकार मैत्री गाउँ घोषणा भएको तर सबै परिवार महिनावारीका सबै अर्थात् झन्डै ४० भन्दा बढी बार्नुपर्ने कुरा बार्छन् । त्यही जिल्लामा जातीय छुवाछूत उत्तिकै चरम छ भन्नलाई गत महिना मात्र दलित महिलालाई पँधेरो छोएको नाममा टाउकोमा कुटेको समाचार नै पर्याप्त हुन्छ ।

अमेरिका, युरोप जस्ता मुलुकहरूले एसिया, अफ्रिकामा काम गर्दागर्दै सिके तर फेरि पनि गरिब वा शरणार्थी वा घरविहीन महिलाहरूलाई महिनावारी सामग्री व्यवस्था गर्न आर्थिक कारणले गाह्रो हुन्छ भनेर करमा काम गर्न थाले तथापि उनीहरूकोमा पनि हामीसँग मिल्ने, अलिक फरक स्वरूपमा महिनावारी बार्ने चलन हँुदै नभएको भने होइन ।

हाम्रोमा महिनावारी अभ्यास स्वीकार गरे, नगरे पनि थप जटिल र बहुमुखी छ जुन हामीले सिक्यांँ । हामीले हाम्रा मात्र समस्या सिकेनौँ, समस्या पनि पत्ता लगायौँ । आगन्तुकहरूलाई प्रमाणसहित भन्न र गर्न सक्ने भएका छौँ । यो प्राकृतिक नियम नै हो । समुद्रमा खेल्दाखेल्दै हो कोलम्बसले अमेरिका पत्ता लगाएको, राइट दाजुभाइले साइकलसँग खेल्दाखेल्दै हो जहाज उडाएको । आज पनि गहिरिएर हेर्ने हो भने अस्ट्रियामा करिब सात महिना हिउँ पर्छ हिउँ नै बेचेका छन् अर्थात् हिउँमा व्यवसाय गरेका छन्, समुद्र छैन भनेर टाउको समातेर बसेका छैनन् । खाडी देशमा मरुभूमि छ, तर त्यसैमा व्यवसाय गरेका छन् । अहो ! डाँडाकाँडा छैन भनेर रोएर बसेका छैनन् । फिलिपिन्स टापु नै टापुको देश हो जो त्यसैमा सम्भावना देख्छ । जापान युद्धमा हेलियो तर त्यसैबाट सिक्यो । हाम्रा वरपर धेरै उदाहरण छन् जहाँ शोकलाई शक्तिमा रूपान्तरण गरेका छन्, चुनौतीलाई अवसरमा बदलेका छन् ।

अब पालो हाम्रो । महिनावारीको सवालमा सदियौँदेखि मरेका, हेपिएका, हिंसामा परेका, पलपल आत्मसम्मान गुमाएर मरेका तर जिउँदा महिलाहरूको भुक्तभोगी हामी । हामीले समाधान नखोजे कसले खोज्छ, हामी जति जानिफकार अरू को हुनसक्छ ? साँच्चै हामी नेपालीहरू महिनावारीका विज्ञ हौँ तर सङ्गठित, वैज्ञानिक र नीतिगत ढङ्गले अगाडि बढ्न हामी हिचकिचाएका छौँ, एक अर्कालाई स्वीकार्न अपमान ठानेका छौँ विदेशीले हेपेको पनि ठीक, जे भने पनि ठीक तर आफूभित्रै भएको जुक्ति, जाँगर बेठीक ! कतै हामी आफ्नो खुट्टामा आफैँले बञ्चरो हानिरहेका त छैनौँ ?

कुनै परिस्थितिवश अभ्यासमा आएका चलनलाई आत्मसात् गर्दै प्राथमिकतामा राखेर सङ्गठित, वैज्ञानिक र नीतिगत ढङ्गले अघि बढ्न हामीलाई कसले र केले छेकेको छ, रोकेको छ हाम्रो इच्छाशक्ति ? नेपाल सरकार विशेषगरी महिला, खानेपानी, स्वास्थ्य, शिक्षा मन्त्रालयको अनि मानव अधिकार, शान्ति, दिगो विकास लक्ष्य, सशक्तीकरण, स्वास्थ्य, शिक्षा, सरसफाइमा काम गर्ने गैर सरकारी निकायहरूको इच्छाशक्ति केले बढाउने हो ? स्वास्थ्य, शिक्षा, खानेपानी, सशक्तीकरण सबै महìवपूर्ण र एक अर्कासँग जोडिएका सवाल हुन् तथापि मर्यादा जोडिएन भने सबै पक्षले सार्थकता पाउन सक्दैनन् ।

हामीले हाम्रा सबल पक्षहरू जस्तो महिनावारी कानुन, मर्यादित महिनावारी संसारमा नै सुरुवात गर्ने देश, मर्यादित महिनावारी नीति २०७४, डिसेम्बर ८ लाई १६ दिने महिला हिंसाविरुद्धको अभियानमा मर्यादित महिनावारी दिवस मनाउन नेपालले अगुवाइ गर्नु, स्वतःस्फूर्त मर्यादित महिनावारीमा विभिन्न तहमा काम गर्ने अभियन्ता, लेखक, संस्थाहरू आदिको आडमा गर्न सक्ने आधार र अवसर प्रशस्त छन् । हामीले यी सबल पक्षहरूलाई पहिचान र परिचालन गर्न नसक्नु हाम्रो आफ्नै समस्या हो, जबर्जस्त आफैँले समातेर, शङ्कै शङ्काका पालेको समस्या हो ।

मानव अधिकार, महिनावारी अधिकार, नारीवादी आन्दोलनमा नेपालको परिचय बन्नु चानचुने कुरा हैन । भलै यसमा यसलाई थप अनुसन्धान, अभिलेखीकरण, अभियान गर्दै स्रोतहरूको परिचालन गरेर सशक्त गर्दै लानुपर्नेछ ।

गरिब र सानो देश भएको कारण युरोप र अमेरिकामा सजिलै उचाइ लिएका अभियान नेपाललाई लिन गाह्रो त हुन्छ नै तर असम्भव भने छैन । मर्यादित महिनावारी सुन्दा जति साधारण र निजी लागेको छ, त्यो कदापि होइन, यसले अन्तर्राष्ट्रिय बजारमा अर्थ राख्छ । यो राजनीतिको सवाल हो ।

मर्यादित महिनावारीमा अनुसन्धान हुन थालेका छन्, डकुमेन्ट्री बन्न थालेका छन् । मर्यादित महिनावारी शब्दको प्रयोग कसले र कसरी भयो इतिहास खोजिन थालेको परिवेशमा नेपाल सुस्त वा अलमल भयो भने सगरमाथा र लुम्बिनीमाथि धावाको प्रयास भएजस्तै नहोला भन्न सकिन्न । मर्यादित महिनावारी नेपाललाई गौतम बुद्धको दर्शन झैँ नेपालको सिद्धान्त हो । मानव अधिकार, महिनावारी अधिकार, नारीवादी आन्दोलनमा नेपालको परिचय बन्नु चानचुने कुरा हैन । भलै यसमा यसलाई थप अनुसन्धान, अभिलेखीकरण, अभियान गर्दै स्रोतहरूको परिचालन गरेर सशक्त गर्दै लानुपर्नेछ ।

यसै पृष्ठभूमिमा नेपालले संसारैभर महिनावारीसम्बन्धी जुनसुकै काम गर्दा पनि ‘मर्यादित महिनावारी’ वा ‘मर्यादा’लाई केन्द्रमा राख्नुपर्छ भन्ने विषयमा विश्वव्यापी अभियानका लागि अपिल गर्नुपर्ने देखिन्छ । जस्तो आगामी जेठ १५ गते अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस मनाउँदा पनि नेपालले ‘महिनावारीका कुरा, मर्यादाले हुन्छ पूरा’ वा ‘मिन्स्रुअल् टक, डिग्निटी फस्ट’ नारामार्फत संसारलाई नै आफ्नो पहिचान स्थापित गर्न सक्छ ।

दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जाल नेपालबाट पहल हुनु वा सचिवालय नेपालमा हुनु आफैँमा अर्को अवसर हो । त्यही सञ्जालले पहल गरिरहेको २०७७, जेठ १३, १४ र १५ हुने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीको अगुवाइ नेपाल सरकारले गर्न सकेमा सुनमा सुगन्ध सावित हुनेछ । यसर्थ फेरि पनि नेपाल सरकारसँग मर्यादित महिनावारी स्थापित गर्ने र नेपालको पहिचान छाउपडीबाट मर्यादित महिनावारीको देश बनाउन प्रशस्त अवसर छन् ।

उपयोग गर्ने कि नगर्ने, देख्ने कि नदेख्ने – दुई विकल्प छन् । हुन त महिला मन्त्रीले डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवस घोषणा गर्न संयुक्त राष्ट्रसङ्घमा पहल गर्ने प्रतिबद्धता सार्वजनिकरूपमा गरिसक्नुभएको छ जुन आफैँमा सकारात्मक पक्ष हो ।
मर्यादा, पश्चिम नेपालमा कुनै महिलाको महिनावारी हुँदाको पाँच दिन बग्ने एक पसर रगतको मात्र कुरा होइन । सिद्धान्ततः मानव अधिकारको कुरा हो, व्यवहारतः संविधान कार्यान्वयन गर्ने कुरा हो, साङ्केतिक रूपमा स्वतन्त्रता, आत्मसम्मान कुरा हो । नेपाल सरकारलाई एउटा अवसरको कुरा हो ।
(लेखक सामाजिक अभियन्ता हुुनुहुन्छ ।)  

मर्यादित महिनावारी बारे राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य गर्ने विषयमा राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ । महिनावारी विभेद अन्त्यका लागि आवश्यक नीति निर्माण तथा भएका नीतिमा समय सापेक्षा र आवश्यकताअनुसार परिमार्जनका लागि संकल्प प्रस्ताव दर्ता भएको हो । हिजो शुक्रबारदेखि प्रारम्भ संघीय संसद राष्ट्रिय सभाको १७औँ अधिवेशनको पहिलो दिनमा नै प्रस्ताव दर्ता गरिएको छ ।

सांसद मदन कुमारी शाह (गरिमा)को प्रस्तावमा र सुमित्रा बिसी, विष्णुकुमारी सापकोटा, गंगा बेल्बासे, पूजा चौधरी र ड़ा. अन्जान शाक्यको समर्थनमा संकल्प प्रस्ताव दर्ता भएको राष्ट्रिय सभा सचिवालयले जानकारी दिएको छ । हाम्रो संविधानको प्रस्तावनामा लैंगिक विभेदलगायत सबै किसिमका विभेद र उत्पीडनको अन्त्य गर्ने, सामाजिक न्याय, मौलिक अधिकार र मानव अधिकारको अवधारणामा प्रतिवद्ध रहने संकल्प गरिएको छ,’ प्रस्तावमा भनिएको छ,’.महिनावारी हुने बालिका, महिलाहरु महिनावारी भएका बेला सामाजिक बहिष्करण हिंसा, विभेद र विभेदका कारण हुने शारीरिक र मानसिक पीडा, असुरक्षाले व्यक्तिको समग्र विकास अवरुद्ध हुने गरेको छ ।’

प्रस्तावमा महिनावारी विभेद आफैंमा यौनिक तथा लैंगिक हिंसा भएको र मानव अधिकारको हनन् पनि भएको उल्लेख छ । महिनावारी विभेद सबै क्षेत्र, जात, समुदायमा रहेको तर राज्यले यसलाईै हिंसा नमानेमाले संकल्प प्रस्ताव ल्याउनु परेको सांसद गरिमा शाहले बताउनुभयो ।

संकल्प प्रस्तावमा महिनावारी विभेदले संवैधानिक रुपमा महिलाहरुलाई प्रदान गरिएका करिब १ दर्जन भन्दा बढी अधिकारको हनन् भएकाले तत्काल नयाँ कानुन बनाउन माग गरिएको छ । मन्त्रालयमा मस्यौदामा रहेको मर्यादित महिनावारी नीति पारित गर्न, छाउपडि निर्देशिका विस्थापित गर्दै मर्यादित महिनावारी निर्देशिका जारी गर्न, सुदूरपश्चिममा महिनावारीलाई बोलिने स्थानीय नाम ‘छाउपडी’ शब्दको ठाउँमा देखिने र नदेखिने सबै महिनावारी विभेदलाई सम्वोधन हुनेगरि महिनावारी शब्द प्रयोग गर्न पनि माग गरिएको छ ।  दर्ता भएको संकल्प प्रस्तावलाई अब राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न छलफल गरेर सरकारलाई निर्देशन दिन सक्नेछ ।

मर्यादित महिनवारी संसदको मूल मुद्दा बन्नुपर्नेमा सांसदहरु एकमत

काठमाडौ । महिनावारीसँग जोडिएका सबै विभेदलाई हटाएर मर्यादित बनाउन संसदको हस्तक्षेपकारी पहल आबश्यक रहेको सांसदहरुले बताएका छन् । महिनावारीलाई विभेदका रुपमा व्यवहारगर्दा जनसंख्याको आधा हिस्साले अमर्यादित र असुरक्षित जीवन गुजार्न बाध्य भएकाले संसदले चासो लिनुपर्नेमा उनीहरुको जोड थियो । राधा पौडेल फाउन्डेशन, मर्यादित महिनावारी ग्लोबल साउथ कोलिजनले शुक्रबार काठमाडौमा गरेको सांसदहरुसँग मर्यादित महिनावारी संवाद कार्यक्रममा सांसद, विज्ञ र सरोकारवालाहरुले बनेका नीतिको कार्यान्वयन गर्नुपर्ने र आबश्यक नीति बन्नुपर्नेमा जोड दिए ।

पूर्व परराष्ट्रमन्त्री तथा राष्ट्रियसभाका सांसद डा. विमला राई पौड्यालले महिनावारीलाई मर्यादित बनाउन संसदमा बहस हुनुपर्ने बताइन् । महिनावारीलाई सांसदहरु आफैले पनि विभेद गर्ने गरेको उल्लेख गर्दै सांसद पौड्यालले महिनावारीसँग जोडिएका नीति, कानुन, निर्देशिकाको समिक्षा गरेर संसदले एकीकृत कानुन बनाउनुपर्नेमा जोड दिइन ।

कतिपय सांसदहरुले दोहोरो चरित्र देखाउने गरेको हुँदा कतिपय बनेका कानून र बन्दै गरेका नीति नियमहरु पनि प्रभावित हुने गरेको पौड्यालको तर्क थियो । महिनावारीकै कारण महिलाहरु दोस्रो दर्जाको नागरिक बन्नुपरेको पीडादायी अवस्थामा सांसद र संसद नबोले कसले बोल्ने भन्दै उनले प्रश्न गरिन । महिनावारी हुँदा गरिने विभेदले महिलाको मर्यादापूर्वक बाँच्न पाउने अधिकार हनन् भएको हुँदा सांसदहरुले अब संसदमा प्रजनन स्वास्थ्यसँगै मर्यादित महिनावारीको लागि पहल गर्नुपर्नेमा जोड दिइन । संवाद कार्यक्रममा मर्यादित महिनावारीका अन्तर्राष्ट्रिय अभियन्ता डा. राधा पौडेलले कार्यपत्र प्रस्तुत गर्दै विश्वभरी महिनावारीलाई विभेदको व्यबहार गर्ने गरेको तथ्याङ्क पेश गरिन । ९३ प्रतिशत घरेलु हिंसा घरभित्र हुने गरेको र त्यसको मूल कारण महिनावारीको विभेद रहेको उनको दावी थियो ।

‘नेपालको संविधानमा उल्लेख भएका मौलिक अधिकारका धाराहरूः खानाको अधिकार, शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, बासको अधिकार, मर्यादापुर्वक जिउन पाउने अधिकार, छुवाछुत विरूद्धको अधिकार, महिलाको हकको अधिकार, समानताको अधिकार सबै महिनावारीको विभेदले बन्चित भएका छन्’ पौडेलले भनिन, ‘यी सबै अधिकारहरू चाहिँ महिनावारी भएको बेलामा बार्ने चलनले हनन भएको अवस्था हुँदा पनि संसदमा प्रश्न नउठ्नु आश्चर्यको विषय हो । ’

सांसदहरुको प्रतिवद्धता कार्यक्रममा सहभागि सांसदहरुले महिनावारी विभेदलाई मानवअधिकार, संविधानको उल्लंघन र अपराधसँग जोडेर नहेरेकाले समस्या भएको बताए । अब महिनावारीलाई मर्यादित बनाउने सवाल संसद र संसदीय समितिमा लैजाने प्रतिवद्धता पनि जनाए ।  सांसद शोभा ज्ञवालीले अहिलेसम्म बनेका कानुनको कार्यान्वयन र बन्नुपर्ने कानुनका लागि संसदको मुद्दा बनाउने प्रतिवद्धता जनाइन ।   सांसद प्रतिक्षा तिवारीले महिनावारी छुवाछुत मुक्त र भेदभाव रहित बनाउन सांसदहरुको अहम भूमिका खेल्नुपर्ने बताइन ।

सांसद दीपा शर्माले महिनावरी विभेद सुदूर र कर्णालीको मात्रै विषय बनाउनु दुभाग्र्यपूर्ण भएको र काठमाडौंमा घरघरमा छाउपडी गोड रहेको तर्क गरिन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दीरा चापागाई र लक्ष्मी तिवारीले मर्यादित महिनावारी सबैको साझा सवाल भएकोले मानव अधिकार रक्षाका लागि पनि राजनीतिक नेतृत्वले उदाहरणका रुपमा काम गर्नुपर्नेमा जोड दिए ।   सांसद कल्पना मियाँले महिला वालवालिका मन्त्रालयले बनाएको निर्देशिका नीति खोजीगर्ने र संसदीय समितिको छलफलको विषय बनाउने प्रतिवद्धता जनाइन ।

सांसद सीताकुमारी राना, सम्झना थपलिया, ईश्वरी घर्ती, गोमालाभ सापकोटा, सरीता भूषाल, प्रजिता गुप्ता, शान्ति श्रेष्ठ लगायतले अब महिनारीलाई मर्यादित बनाउने र विभेदन अन्त्यगर्ने विषयलाई छलफल सुरु गर्ने प्रतिवद्धता जनाए ।   अधिवक्ता शशी बस्नेतले महिनावारी विभेद कानून विरुद्धको अपराध भएकाले त्यसलाई संसदले चासो पूर्वक हेर्नुपर्ने बताइन । ‘सांसदहरुले नै थोरै छ, खास छैन, यो यो मात्रै बार्ने गरिन्छ भनेको सुनियो’ बस्नेतले भनिन्, ‘सांसदहरुले नै त्यसरी प्रस्तुत भयो भने कानुन कार्यान्वयन कसरी सहज होला ? जतिसुकै विभेदन भएपनि त्यो विभेदन हो, अपराध हो । कानुनले त्यसरी नै हेर्छ । ’

संयुक्त राष्ट्रसंघको एउटा तथ्यांक अनुसार, विश्वमा ५० करोड महिला तथा किशोरीलाई आफ्नो महिनावारी व्यवस्थापनका लागि पर्याप्त सरसामानको पहुँच छैन । महिनावारी स्वास्थ्यको सुविधाबाट पनि वञ्चित छन् । नेपालमा ९८ प्रतिशत महिलान्यूनतम मानवीय आवश्यकतासमेत परिपूर्ति हुन नसकेको यो अवस्थालाई राष्ट्रसंघले रजस्वला गरिबीका रूपमा परिभाषित गरेको छ । आगामी डिसेम्बर ८ मा मर्यादित महिनावारी दिवस मनाइदैछ ।

मर्यादित महिनावारी अभियानमा सक्रिय समीर

परासी — पश्चिम नवलपरासीस्थित सुनवल–५ का २४ वर्षीय समीर परियार सधैं प्याड लिएर हिँड्छन् । गाउँघर, साथीहरूसँग घुम्न जाँदा वा कुनै कार्यक्रममा सहभागी हुँदा उनको साथमा प्याड कहिल्यै टुट्दैन । जन्मदिनको उपहारमा पनि केटी साथीका लागि प्याड तथा प्याड बनाउन आवश्यक सामग्री दिने गर्छन् ।

मर्यादित महिनावारी प्रवर्द्धन गर्ने र घरलाई महिनावारीमैत्री बनाउनुपर्छ भन्ने अभियानमा समीर ५ वर्षदेखि सक्रिय छन् । उनी जहाँ जान्छन्, महिनावारीको विषयमा बोल्न हिच्किचाउँदैनन् । बरु उल्टै छोरा मानिस भएर पनि महिनावारीको विषयमा बोल्ने भनेर खिसीटिउरी गर्नेलाई सम्झाइबुझाइ गर्छन् ।

आफ्नै विद्यालयका किशोरी साथीहरूको समस्या देखेपछि यो अभियानमा लाग्न प्रेरणा दिएको समीर बताउँछन् । विद्यालय तहमा पढ्दै गर्दा केटी साथीहरू महिनामा तीन–चार दिन अनुपस्थित हुने गर्थे । कारण खोज्दै जाँदा उनले महिनावारी मुख्य कारण रहेको थाहा पाए । विद्यालयमा सहजै प्याड उपलब्ध नहुनु र महिनावारी हुँदा विद्यालय जान हुँदैन भन्ने सोचविरुद्ध लाग्न उनले आफूसँगैका साथीहरूलाई मर्यादित महिनावारीको अभियानमा सहभागी गराउन थाले । अहिले उनको यो अभियानमा धेरै युवा जोडिएका छन् ।

‘हामीले सबैभन्दा पहिला महिनावारी हुनुलाई स्वास्थ्य र सामाजिक प्रतिष्ठाका रूपमा लिनुपर्छ । महिनावारी सुरक्षित त हुनु नै पर्छ । मर्यादित पनि बनाउन आवश्यक छ,’ समीर भन्छन्, ‘महिनावारीको विषयमा आफूनजिकका आफन्त र साथीसँग ढुक्कले बोल्ने वातावरण बनाउनुपर्छ । हामी यो अभियानमा लागिरहेका छौं ।’ यो अभियानमा लाग्ने अभियन्ताहरू आफूसँग जुनसुकै बेला पनि प्याड बोकेर हिँड्ने गर्छन् । प्याडको प्रयोग महिनावारी हुँदा महिलालाई मात्र होइन, कहीँ कतै दुर्घटना हुँदा घाउबाट बग्ने रगत रोक्न पनि सहयोगी हुने उनी बताउँछन् ।

कोभिडको समय २०७७ सालमा ‘गिफ्ट फर गर्ल’ को नामबाट यो अभियान सुरु भएको हो । जसमा आफ्ना केटी साथीका लागि प्याड गिफ्ट गर्ने र घरमा नै कसरी सुरक्षित तवरले प्याड निर्माण गर्न सकिन्छ भन्ने तालिम दिइन्थ्यो । अहिले यो अभियान ‘मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ को नामले परिचित छ ।

यो अभियानमा जोडिएकाहरूले अभिभावकलाई महिनावारीको विषयमा बुझाउने गर्छन् । यो समयमा अन्य समयभन्दा आराम गर्नुपर्ने, पौष्टिक आहार खानुपर्ने र हौसला दिनुपर्ने सचेतना फैलाउने गर्छन् । पहिलो पटक हुने महिनावारीलाई उत्सवका रूपमा मनाउने, अरुको घरमा लुक्नुपर्ने, घाम र पुरुष देख्न नहुनेजस्ता कुरीतिविरुद्ध ग्रामीण बस्तीमा सचेतना फैलाउने काममा युवायुवती सक्रिय छन् । युवाको यो अभियानलाई प्रोत्साहन दिन सुनवल नगरपालिकाले मर्यादित महिनावारीबारे छलफल र सचेतनाका लागि आफ्नो बजेटमा नै कार्यक्रम समावेश गरेको छ । कान्तिपुरबाट

जलवायु न्याय र मर्यादित महिनावारी

ब्रह्माण्डलाई चलायमान राख्न अपरिहार्य महिनावारी प्राकृतिक वा जैविक प्रक्रिया हो । परिस्थितिअनुरूप महिनावारीसँग जोडिएका अभ्यासका बारेमा छलफल, अनुसन्धान गर्नुभन्दा पनि यसलाई कहिले नकारात्मक जस्तो अचम्म शक्तिका रूपमा स्थापित गर्दै त्यहीअनुरूप सोच र अभ्यास भएको देखिन्छ ।

मिन्सुरेटर (पाठेघर लिएर जन्मिएका) र नन–मिन्सुरेटर (पाठेघर नलिई जन्मिएका) व्यक्तिको तुलना गर्ने हो भने अनुसन्धान र छलफलमा मिन्सुरेटरका अधिकांश सवालले कम स्थान पाउने जगजाहेर नै छ ।

भूगोल, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, प्राविधिक आयामले महिनावारी अभ्यास प्रभावित भए पनि देखिने र नदेखिने, धेरै र थोरै, फरक–फरक नाम र स्वरूपमा संसारभर महिनावारी विभेद छ । महिनावारी विभेदले शक्ति र पितृसत्ता निर्माण गर्दै यसको चक्रीय रूपमा सामाजिकीकरण हुने भएकाले यो कुनै पाँच दिनको मात्र सवाल नभएर जीवनचक्रभरकै सवाल हो । शक्ति र पितृसत्ता निर्माण गर्दै यसको सामाजिकीकरण गर्ने भएकाले यसले मिन्सुरेटर र नन–मिन्सुरेटरबीच प्रभाव नपारेको कुनै क्षण नै हुँदैन ।

खासमा यसले लैंगिक मानक जस्तोः कसरी हिँड्ने, के लगाउने, के पढ्ने, को पढ्ने, कहाँ पढ्ने, किन पढ्ने आदि सबै कुराको निर्माण गर्छ । यहाँनेर लैंगिक असमानताका कारण विभेद भएको होइन महिनावारीलाई विभेदका रूपमा अभ्यास गरेकाले लैंगिक असमानताको निर्माण भएको हो भनेर बुझ्न नै ढिलो भएको हो । जति महिनावारी प्राकृतिक हो, त्यति जेन्डर होइन भन्ने पनि यस लेखको आशय हो । अर्थात्, जेन्डर नभनेर महिनावारी भनेको भए सायद हाम्रो समावेशिता सजिलो र छरितो हुन्थ्यो होला । महिनावारी विभेदको अभ्यास एक पटक होइन दर्जनौं पटक यौनिक र लैंगिक हिंसा हो । मानवअधिकारको परिभाषाका आधारमा विश्लेषण गर्ने हो भने कैयौं पटक मानवअधिकारको हनन हो । महिनावारी भएको वा महिनावारी सुक्दै गर्दा हुने विभेद/हिंसा महिनावारी विभेदको लाक्षणिक प्रभाव हो भने महिनावारी चक्रभर हुने विभेद/हिंसा महिनावारी विभेदको प्रणालीगत प्रभाव हो ।

झट्ट हेर्दा महिनावारी र जलवायु परिवर्तन प्राकृतिक हुन् । कृत्रिम तरिकाले वा हामी बाँचेको समाजले महिनावारीलाई विभेदको ट्याग लगाइदियो र जलवायु परिवर्तनलाई प्रतिस्पर्धात्मक औद्योगिकीकरणले तीव्र बनाइदियो । जलवायु परिवर्तन दिन दोब्बर रात चौब्बर भएर गयो र सिंगो दुनियाँलाई प्रभाव पार्न थाल्यो । महिनावारी विभेद मौनता, अज्ञानताको दलदलमा परेर मिन्सुरेटर र नन–मिन्सुरेटरबीचको खाडल झन्झन् फराकिलो हुँदै गयो । पहिलो र मुख्य कारणलाई सम्बोधन नगरेर, अन्य माध्यमबाट सम्बोधन गर्न खोज्दा लैंगिक असमानताको समस्या झन् जटिल बन्दै गयो । त्यसो त सम्बोधन गर्न कैयौं अभियान, नीति, कार्यक्रम नभएका होइनन् तर तिनको प्रभाव दीर्घकालीन र सर्वव्यापी हुन पाएन ।

कतै पानी सुक्नुको दोष मिन्सुरेटरलाई महिनावारी भइरहेका समयमा लगाउनु लाक्षणिक प्रभाब जस्तो देखिए पनि यो महिनावारी विभेदको प्रणालीगत प्रभाव हो । पानीको कुवा जलवायु परिवर्तन वा वन विनाशका कारण सुके होलान् । जहाँ महिनावारी हुने व्यक्ति र उसको गतिविधिलाई अशुद्ध, फोहोरका रूपमा प्रयोग गरिएको छ । कुवा सुकिसकेपछि डेढ घण्टा हिँडीहिँडी पानीको जोहो महिलाले नै गर्नुपर्छ भन्ने मनसाय वा चलन मिन्सुरेटरमाथि त्यही अशुद्ध, फोहोर रगतका कारण थोपरिएको कार्य विभाजन हो । पानीको उपलब्धता, सधैं नुहाउने बानी, सहजता भए महिनावारीको समयमा नुहाए हुन्छ ।

तर सकीनसकी महिनावारी भएकाले नुहाउनैपर्छ भन्नु फेरि पनि महिनावारीको रगतलाई अशुद्ध र फोहोर स्थापित गरिएकाले भएको हो । नत्र यौनांग र रगत व्यवस्थापन गर्न गरिएको सामग्री मात्रै सफा गरे पुग्छ । यदि गम्भीर किसिमको महिनावारी स्वास्थ्य समस्या (जुन करिब ५ प्रतिशतमा देखिन्छ) नहुँदो हो त मिन्सुरेटरले व्यवस्थापन गर्दा खासै कुनै समस्या मान्नु पर्दैन । मानिलिऊँ, मिन्सुरेटर ५ प्रतिशतभित्र परे भने रगत व्यवस्थापन गर्नै पनि नन–मिन्सुरेटरको सहयोग गर्न सक्थे । त्यो किन हुन सकेन ? महिनावारी भइरहेको समयमा भए पनि यो महिनावारी विभेदको प्रणालीगत प्रभावको परिणाम हो । गाईबस्तुलाई पानी व्यवस्थापनको जिम्मेवारी, यो आय नहुने वा घरायसी काम हो भनेर मिन्सुरेटरले मात्र जिम्मेवारी लिनुपर्छ भन्ने सोच फेरि पनि महिनावारी विभेदको प्रणालीगत प्रभाव हो ।

जलवायु न्यायको हालको पैरवीको एउटा पक्ष जलवायु परिवर्तनले स्वास्थ्य समस्या बढ्यो, लैंगिक असमानता बढ्यो, निर्णय प्रक्रियामा महिलाको सहभागिता कम भयो, लैंगिक समानताका लागि बजेट थोरै भयो भन्ने देखिन्छ । उही लयमा, जलवायु परिवर्तन वा न्याय भन्ने शब्द राखेका ब्यानरमा कार्यक्रम गर्नु फेरि अर्को भूल हुनेछ । किनभने हाम्रो पैरवीले असमान शक्ति निर्माण र पितृसत्ताको मूल निर्माणकर्ता महिनावारी विभेदको पहाड कोट्याउन सोचेको पनि छैन । अधिकांशले सोचेजस्तो यौन तथा प्रजनन शिक्षा, महिनावारी स्वास्थ्य वा व्यवस्थापनले महिनावारी विभेद हटाउन सकेको छैन । जुनसुकै परिवेशको जलवायु न्यायको अनुसन्धान र पैरवीमा मर्यादित महिनावारी (समाधान) वा महिनावारी विभेद (समस्या) लाई मूल प्रवाहीकरण गर्न सकियो भने मात्र संरचनागत रूपमा भएको विभेदलाई धक्का दिन सकिन्छ ।

अहिलेकै लयमा जलवायु परिवर्तनका कारण बढेको स्वास्थ्य समस्या सम्बोधन गर्न यथेष्ट बजेट आयो । धेरै महिलाहरूको नियुक्ति, युवा, आदिवासीको भूमिका बढाइयो भने पनि यसले तात्त्विक नतिजा दिँदैन किनभने असमान शक्ति निर्माण र पितृसत्ताको जग हल्लाउने पहल त भएकै छैन जुन अर्थपूर्ण जलवायु न्यायका लागि पूर्वसर्त हो । किनभने ७६ वर्ष लामो मानवअधिकारको अभियानदेखि दिगो विकास लक्ष्यसम्म आइपुग्दा पनि महिनावारी विभेदले ठाउँ पाएको छैन । जलवायु परिवर्तनले असर नगरेको कुनै त्यस्तो दुनियाँ छैन अनि मिन्सुरेटर नभएको कुनै दुनियाँ कल्पना गर्न सकिँदैन । त्यसैले जलवायु परिवर्तनमा चासो राख्ने सबैले मर्यादित महिनावारीका विषयमा पनि काम गर्नुपर्ने आवश्यकता देखिन्छ । कान्तिपुरमा प्रकाशित