मर्यादित महिनावारीलाई सस्थागत गर्न महिनावारी विभेदमुक्त अभियानको थालनी

महिनावारी भएको ५ दिन र महिनावारी नभएको २५ दिन एउटै ब्यबहार गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

साँफेबगर ।

महिनावारी हुँदा गरिने विभेद अन्त्य गर्दैः चौरपाटी गाउँपालिका–२ मा सकारात्मक परिवर्तनको सरुवात गरिएको छ । सम विकास नेपाल र गाउँपालिकाको सहकार्यमा भएको कार्यक्रममा मर्यादित महिनावारीका लागि महिनावारीसँग जोडिएको सबै विभेद अन्त्य गर्ने निस्कर्ष निकालिएको छ । १३ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएपछि सामाजिक दबाबका कारण छुट्टै असुरक्षित स्थानमा बस्नुपरेको अनुभव बोकेकी अछामको चौरपाटी गाउँपालिका–२ की जानकी साउद अहिले १६ वर्षकी हुनुहुन्छ । विगतमा महिनावारी हुँदा विभेद भएर गोठमा बस्नुपर्ने बाध्यताबाट गुज्रिएकी जानकी अहिले भने आफ्नो घरमै सुरक्षित र मर्यादित रूपमा बस्न थाल्नु भएको छ ।

“महिनावारी त बार्ने होइन रहेछ, ब्यवस्थापन र आत्ममर्यादाको ख्याल राख्ने कुरा रहेछ,” उहाँ भन्नुहुन्छ । अहिले उहाँ आफैं आफ्नो समुदायमा अरु किशोरी र महिलाहरूलाई महिनावारीको समयमा कुनैपनि खालको विभेद गर्न नहुने सिकाउनुहुन्छ ।

चौरपाटी–२, सोकटकी किशोरी विनिशा भूल पनि महिनावारी हुँदा छुट्टै गोठमा बस्नुपर्ने विभेदपूर्ण अभ्यासबाट मुक्त हुँदै गएको बताउनुहुन्छ । कानुनको उल्लंघन गर्नेहरूमाथि कानुन अनुसार कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।

मूलीगाउँकी उर्मिला साउद पनि महिनावारी भएका बेला सात वर्षदेखि घरमै बस्दै आउनुभएको छ । शिक्षा, जनचेतना र कानुनी हस्तक्षेपको प्रभावले अहिले चौरपाटी–२ मा महिनावारीसम्बन्धी विभेदपूर्ण अभ्यासहरू क्रमशः घट्दै गएका छन् । यसै सन्दर्भमा, चौरपाटी गाउँपालिकाले मर्यादित महिनावारी अभ्यासलाई प्रोत्साहन गर्न ‘महिनावारी सम्मान कार्यक्रम’ अन्तर्गत विभेदमुक्त अभियानको थालनी गरेको छ ।

समविकास नेपालको सहजीकरण र रेडियो जनप्रिय एफएमको समन्वयमा सञ्चालन गरिएको अभियानमा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीसहितको टोली पुगेको थियो । अछाममा महिनावारी विभेदका कारण गोठमा बस्नुपर्ने गलत चलनका कारण १५ जनाको मृत्यु भइसकेको छ । चौरपाटी गाउँपालिकामै पनि तीन जना महिलाले ज्यान गुमाइसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी आनन्द सारूले मुलुकी अपराध संहिता २०७४ बमोजिम महिनावारीको समयमा विभेदपूर्ण व्यवहार गर्नेलाई कानुनी कारबाही हुने बताउनुभयो गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले महिनावारीका बेला अपहेलना गराउने र बस्न बाध्य पार्ने दुवैको सेवासुविधा रोकिने चेतावनी दिनुभयो । महिनावारी भएको ५ दिन र महिनावारी नभएको २५ दिन एउटै ब्यबहार गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।


Related Articles