‘उपमेयर मर्यादित महिनावारी कार्यक्रम’ सुरु

झापा । झापाको दमक नगरपालिकाले ‘उपमेयर मर्यादित महिनावारी कार्यक्रम’ सुरु गर्ने निर्णय गरेको छ । यस कार्यक्रम अन्तर्गत नगरभित्र १५ वर्ष उमेरदेखि ५५ उमेर समूहको महिनावारी हुने सबै महिलाहरूलाई निःशुल्क रूपमा महिनावारी प्याड उपलब्ध गराइने निर्णय भएको हो ।

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईका अनुसार नगर सभाले पास गरेको उपप्रमुख कोषको रकमबाट खर्च गर्ने गरी यही आर्थिक वर्षबाट नै कार्यक्रम सुरु गर्नेगरी नगरपालिकाको बोर्ड बैठकबाट यो कार्यक्रम गर्ने निर्णय भएको हो । महिनावारीलाई लज्जाको विषयमा बनाइरहेको अवस्थामा यो कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने आफूहरूको सोच रहेको उहाँले जनाउनुभयो ।

विद्यार्थीहरूका लक्षित बेग्लै कार्यक्रम रहेपनि अन्य महिलाहरूका लागि यस विषयमा यसभन्दा अघि कार्यक्रम ल्याइएको थिएन । अब सबै महिलाले नगरपालिकाले तोकेको स्वास्थ्य इकाईबाट मासिक रूपमा सेनीटरी प्याड पाउने व्यवस्था मिलाउनका लागि आवश्यक काम सुरु भइसकेको भट्टराईले बताउनुभएको छ ।

नगरपालिकाको सबै स्वास्थ्य इकाईहरुमार्फत् महिनावारी प्याड उपलब्ध गराइने र त्यसको अभिलेख सम्बन्धित इकाईले राख्ने व्यवस्था मिलाउने निर्णय भएको दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेशराज कार्कीले बताउनुभयो । नजिकको सरकारी स्वास्थ्य संस्था तथा आधारभूत स्वास्थ्य केन्द्रबाट सहज रूपमा महिलाहरूले सेनीटरी प्याड पाउने उहाँको भनाइ छ ।