मर्यादित महिनावारी अभियानमा सक्रिय समीर

परासी — पश्चिम नवलपरासीस्थित सुनवल–५ का २४ वर्षीय समीर परियार सधैं प्याड लिएर हिँड्छन् । गाउँघर, साथीहरूसँग घुम्न जाँदा वा कुनै कार्यक्रममा सहभागी हुँदा उनको साथमा प्याड कहिल्यै टुट्दैन । जन्मदिनको उपहारमा पनि केटी साथीका लागि प्याड तथा प्याड बनाउन आवश्यक सामग्री दिने गर्छन् ।

मर्यादित महिनावारी प्रवर्द्धन गर्ने र घरलाई महिनावारीमैत्री बनाउनुपर्छ भन्ने अभियानमा समीर ५ वर्षदेखि सक्रिय छन् । उनी जहाँ जान्छन्, महिनावारीको विषयमा बोल्न हिच्किचाउँदैनन् । बरु उल्टै छोरा मानिस भएर पनि महिनावारीको विषयमा बोल्ने भनेर खिसीटिउरी गर्नेलाई सम्झाइबुझाइ गर्छन् ।

आफ्नै विद्यालयका किशोरी साथीहरूको समस्या देखेपछि यो अभियानमा लाग्न प्रेरणा दिएको समीर बताउँछन् । विद्यालय तहमा पढ्दै गर्दा केटी साथीहरू महिनामा तीन–चार दिन अनुपस्थित हुने गर्थे । कारण खोज्दै जाँदा उनले महिनावारी मुख्य कारण रहेको थाहा पाए । विद्यालयमा सहजै प्याड उपलब्ध नहुनु र महिनावारी हुँदा विद्यालय जान हुँदैन भन्ने सोचविरुद्ध लाग्न उनले आफूसँगैका साथीहरूलाई मर्यादित महिनावारीको अभियानमा सहभागी गराउन थाले । अहिले उनको यो अभियानमा धेरै युवा जोडिएका छन् ।

‘हामीले सबैभन्दा पहिला महिनावारी हुनुलाई स्वास्थ्य र सामाजिक प्रतिष्ठाका रूपमा लिनुपर्छ । महिनावारी सुरक्षित त हुनु नै पर्छ । मर्यादित पनि बनाउन आवश्यक छ,’ समीर भन्छन्, ‘महिनावारीको विषयमा आफूनजिकका आफन्त र साथीसँग ढुक्कले बोल्ने वातावरण बनाउनुपर्छ । हामी यो अभियानमा लागिरहेका छौं ।’ यो अभियानमा लाग्ने अभियन्ताहरू आफूसँग जुनसुकै बेला पनि प्याड बोकेर हिँड्ने गर्छन् । प्याडको प्रयोग महिनावारी हुँदा महिलालाई मात्र होइन, कहीँ कतै दुर्घटना हुँदा घाउबाट बग्ने रगत रोक्न पनि सहयोगी हुने उनी बताउँछन् ।

कोभिडको समय २०७७ सालमा ‘गिफ्ट फर गर्ल’ को नामबाट यो अभियान सुरु भएको हो । जसमा आफ्ना केटी साथीका लागि प्याड गिफ्ट गर्ने र घरमा नै कसरी सुरक्षित तवरले प्याड निर्माण गर्न सकिन्छ भन्ने तालिम दिइन्थ्यो । अहिले यो अभियान ‘मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ को नामले परिचित छ ।

यो अभियानमा जोडिएकाहरूले अभिभावकलाई महिनावारीको विषयमा बुझाउने गर्छन् । यो समयमा अन्य समयभन्दा आराम गर्नुपर्ने, पौष्टिक आहार खानुपर्ने र हौसला दिनुपर्ने सचेतना फैलाउने गर्छन् । पहिलो पटक हुने महिनावारीलाई उत्सवका रूपमा मनाउने, अरुको घरमा लुक्नुपर्ने, घाम र पुरुष देख्न नहुनेजस्ता कुरीतिविरुद्ध ग्रामीण बस्तीमा सचेतना फैलाउने काममा युवायुवती सक्रिय छन् । युवाको यो अभियानलाई प्रोत्साहन दिन सुनवल नगरपालिकाले मर्यादित महिनावारीबारे छलफल र सचेतनाका लागि आफ्नो बजेटमा नै कार्यक्रम समावेश गरेको छ । कान्तिपुरबाट