महिनावारी र त्यससँगै निम्तिने असहजता भारतका धेरै भागमा एउटा कुरा गर्न वर्जित विषयका रूपमा छ। तर दक्षिणी राज्य केरलाको एउटा अभियानले त्यसलाई परिवर्तन गर्ने लक्ष्य लिएको छ।
उक्त अभियानका आयोजकहरूले महिनावारीको समयमा हुने पीडा पुरुषहरूलाई पनि महसुस गराउने यन्त्र एर्नाकुलम जिल्लाका व्यापारिक स्थल र विद्यालयमा राखेका छन्। सो विषयबारे हुने कुराकानीलाई सामान्य बनाउने उद्देश्य अभियानको थियो।
हालै अभियानले राखेको एउटा भिडिओमा पुरुषहरू पीडाले छटपटाइरहेका र चिच्याइरहेका अनि महिलाहरू छक्क पर्दै त्यो दृश्य हेरिरहेको देखिन्छ।
“त्यो निक्कै पीडादायक थियो। म कहिल्यै पनि त्यस्तो महसुस गर्न चाहन्नँ,” एउटा मलमा उक्त यन्त्रको प्रयोगबारे आफ्नो अनुभव सुनाउँदै सामाजिक सञ्जालमा लोकप्रिय मानिने शरण नायरले भने।
उक्त यन्त्र ‘कप अफ लाइफ’ नामक अभियानको हिस्सा हो। त्यसको उद्देश्य महिनावारीको समयमा महिलाहरूले प्रयोग गर्ने कप निःशुल्क वितरण गर्नु र रजस्वलाबारे विद्यमान गलत धारणाबारे स्पष्ट पार्नु हो।
कङ्ग्रेस पार्टीका स्थानीय जनप्रतिनिधि हिबि इडनले इन्डियन मेडिकल असोसिएशनसँग मिलेर उक्त अभियान सञ्चालन गरेका हुन्।
भारतमा महिला स्वास्थ्य त्यसमा पनि महिनावारीको विषय अहिले पनि कम छलफल गरिने विषय हो।

तस्बिर स्रोत,CUP OF LIFE
धेरै भागमा महिनावारी भएको समयमा महिलाहरू अपवित्र हुने धारणा छ र उनीहरूलाई उक्त समयमा सामाजिक, धार्मिक कृत्यबाट अलग गरिनुका साथै भान्साबाट समेत पर राख्ने गरिन्छ।
सहरी क्षेत्रमा उक्त धारणामा केही परिवर्तन आएको भए पनि अधिकांश महिलाहरूले अझै पनि आफ्नो महिनावारी वा त्योसँगै हुने पीडा आफ्ना रोजगारदाता वा परिवारका पुरुष सदस्यसँग सहजै छलफल गर्न तयार छैनन्।
विश्वका कतिपय कम्पनी र भारतमा पनि केही कम्पनीले महिनावारीको समयमा बिदा दिन थालेको भए पनि त्यसले फरक मत निम्त्याउने गरेको छ।